नियम
बोर्डको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) लगानीसँग “सम्बन्धित नीति वा कानूनको सुधार गर्न र प्रचलित कानूनलाई लगानीमैत्री बनाउन सम्बन्धित निकायलाई सुझाव दिने,
(ख) नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता, सरकार वा अन्तर्राष्ट्रिय संस्थालाई आग्रह वा आमन्त्रण गर्ने,
(ग) लगानी प्रवर्द्धनका लागि विदेशस्थित नेपाली नियोगसँग आवश्यक संवाद, समन्वय वा सम्पर्क स्थापित गर्ने,
(घ) लगानी प्रवर्द्धन गर्न नेपाल वा अन्य मुलुकमा लगानी सम्मेलन, कार्यशाला वा लगानी मेला आयोजना गर्ने,
(ङ) परियोजना पहिचान तथा स्वीकृत गरी आशयपत्र तथा प्रस्ताव आव्हान गर्न नेपाल वा अन्य मुलुकमा प्रस्तुतीकरण (सो केस) गर्ने वा गराउने,
(च) व्यावसायिक प्रतिष्ठान स्थापना गर्ने, रकम फिर्ता लैजाने वा स्थानान्तरण गर्ने लगायतका कार्यका लागि लगानीकर्तालाई सहजीकरण गर्ने तथा सोको लागि समन्वय गर्ने,
(छ) कुनै परियोजनाको सम्बन्धमा आवश्यकता अनुसार ट्रान्जेक्सन एडभाइजरी सेवा लिने,
(ज) लगानी प्रवर्डनका क्षेत्रमा देखिएका समस्या समाधान गर्न वा लगानीका क्षेत्रलाई अझ बढी आकर्षक बनाउन लगानीकर्ता, लगानीकर्ताका प्रतिनिधि वा पदाधिकारीसँग समय समयमा अन्तरक्रिया वा छलफल गर्ने,
(झ) परियोजनाका लागि आवश्यक मेसिन, उपकरण, औजार वा अन्य सामग्रीको पैठारीको लागि सहजीकरण गर्ने,
(ज) परियोजनाबाट उत्पादित वस्तु वा सेवाको निकासीको लागि आवश्यक सहजीकरण गर्ने,
(ट) अनुमतिपत्र रद्द गर्न सिफारिस भएकोमा तत्‌ सम्बन्धमा आवश्यक निर्णय गर्ने ।